आवाज

कविता । रसिक राज

मौनताको चिसोपनलाई काखी च्यापेर
हिँडिरहेछ एउटा शरीर
– उसको चाहना थियो
कसैले बुझिदेओस् उसले नबोलेका जम्मै कुराहरु ।

उसलाई जहिले लागिरह्यो
हृदयको आवाज बन्दुकको आवाजभन्दा शक्तिशाली हुन्छ ।
उसलाई जहिले लागिरह्यो
भोको पेटको ऐठन सबैभन्दा पहिले सुन्छ रोटीले ।

देख्न त उसले देखेको हो…

बगैंचामा चुपचाप हुर्किने काँडा
फूलहरूको हल्ला मुन्तिर हराएको ।
चुपचाप माटोमा घर्सिरहेको गड्यौला
दुई अौला बिच निमोठिए बल्छीमा अल्झिएको ।
चुपचाप निहुरिएको पिपलको हाँगो बाटोमा आउने जाने हरकोहीले भाचिदिएको।
चुपचाप भात पकाईरहेकी आमा
बाको छाँयासँग हराएको ।

उसले बोल्न सिक्दैगर्दा
भन्नेले भनिदिए..

नानी,
ठूला चिजहरु सधैँ चुपचाप बस्छन्
र अौला तेर्साएर देखाए परको पहाड ।

भनिदिए
पृथ्वीले पनि त चुपचाप फेर्दछ सास
र उदाहरणमा देखाईदिए शीतका थोपाहरु ।

भनिदिए
चुपचाप एकोहोरो हिँड्दछन् ठूला सपनाहरु
र देखाईदिए हिँडिरहेको नदी

उसले पहाड चर्किएर – पहिरो गएको देख्यो
दुनियाँले भन्यो- एक ठाँउमा नटिके यसरीनै सकिन्छ मान्छे ।

उसले पृथ्वी फुटेर -ज्वालामुखी निस्केको देख्यो
दुनियाँले भन्यो- उर्लिए पछि रहर यसरी नै पोखिन्छ मान्छे ।

उसले किनार काटेर- खेतमा रुम्लिएको नदी देख्यो
दुनियाले भन्यो- भए पछि लयभङ्ग यसरीनै बौलाउछ मान्छे ।

यसरी,
आफू मान्छे हुने, नहुने भयमा पल्सिएर
एउटा शरीर चुपचाप हिँडिरहेछ
समाचार पत्रिका कोचेर मुखमा
धार्मिक गुरुको कामोत्तेजक तस्विर बोकेर पर्समा
र, हातमा बोकेर कुनै गरिव दार्शनिकहरुको बायोग्राफी ।

ल तपाईं भन्नोस्
अब कति समय लाग्छ उसलाई यो बुझ्न… की !!
मान्छे- मान्छे हुन त आवाज चाहिन्छ ?

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *