‘मिस ग्रान्ड नेपाल २०२२’ को ताज ऐश्वर्यालाई
काठमाडौँ- मिस ग्रान्ड नेपाल २०२२ को ताज ऐश्वर्या श्रेष्ठ जित्न सफल भएकी छिन् । शनिबार लाजिम्पाट स्थित होटल संकरमा आयोजित मिस ग्रान्ड नेपालको फिनालेमा १४ प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौंकी २५ वर्षिया श्रेष्ठ मिस ग्रान्ड नेपालको बिजेता बनेकी हुन् । फस्ट रनर अप बर्षा भण्डारी, सेकेण्ड रनर अप रक्षा उप्रेती भएकी छिन् ।
त्यसै बिधागत रुपमा बेस्ट स्वीमसुटमा बर्षा भण्डारी, मिस पपुलर तन्नु शाक्य, मिस फोटोजेनिक स्वस्तिका मगर, मिस पर्सनालीटीमा बर्षा भण्डारी, मिस कन्जेनेलिटी सुदेश्ना महर्जन र मिस कन्फिडेन्समा सामना कार्कीले उपाधि हासिल गरेका छन् ।
मिस ग्राण्डमा विजेता श्रेष्ठले ६ लाख रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर साथै अक्टोबर ४ देखि इण्डोनेशियाको बाली र जाकार्तामा हुने कार्यक्रममा सहभागी हुने पाउने छिन् ।
प्रतियोगितामा निर्णायक जजको रुपमा अभिनेता तथा मोडल अनुपविक्रम शाही, र्यापर आशिष राणा (लाहुरे), प्रिया सिग्देल (मिस नेपाल अर्थ २०१८), छिरिङ वाङ्दी, सुरेश तामाङ र निशु झा रहेका थिए । कार्यक्रमको सम्पूर्ण कोरियोग्राफी सुजित बस्यालले गरेका हुन् ।
सन् २०१३ देखि हुँदै आएको मिस ग्रान्ड नेपाल २०२२ को यो संस्करण “हिंसा र युद्ध रोकौँ” भन्ने मूल नारासहित सम्पन्न भएको हो ।
बोली क्लब ग्रुप र कस्मो इभेन्टको संयुक्त सहकार्य र ३६५ इभेन्ट्स एण्ड मिडियाको व्यवस्थापनमा ‘मिस ग्रान्ड नेपाल २०२२’ आयोजना गरिएको हो ।