मिस्टर एण्ड मिस थारु २०२२ को आवेदन खुला, १० स्थानबाट अडिसन

काठमाडौं । चौथो संस्करणको मिस्टर एण्ड मिस थारु २०२२ को आवेदन खुल्ला गरिएको छ । आयोजक जह इन्टरटेनमेन्ट प्रा.लि. ले एक प्रेस विज्ञप्ती जारी गर्दै नयाँ संस्करणका लागि आवेदन खुला गरिएको जनाएको हो ।
सहभागि हुन चाहने युवायुवतीहरुले आधिकारिक वेबसाइट रजिष्ट्रेशन डट जहइन्टरटेनमेन्ट डटकममा गई आवेदन दिन सकिने छ भने खल्ती एप मार्फत पनि आवेदन दिन सकिने जह इन्टरटेनमेन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश चौधरीले जानकारी दिए । खल्ती एपबाट आवेदन दिँदा १० प्रतिशत क्यासव्याक समेत सुविधा पाउने छन् । आवेदन शुल्क रु. ६०० तोकिएको छ । आयोजकका अनुसार अडिसनको मितिदेखि एक दिन अगाडिसम्म फारम भर्न सकिने छ ।

मिस्टर एण्ड मिस थारुको आवेदन खुल्ला गरिएसंगै अडिसनको मिति समेत तय गरिएको छ । विगतजस्तै यसपटक पनि देशका मुख्य १० शहरहरुमा अडिसन हुँदैछ । अडिसन यही साउन २१ गतेदेखि सुरु हुँदैछ । पहिलोदिन सुनसरीको झुम्का, पर्साको वीरगंज, चितवनको भरतपुर र बाँकेको नेपालगञ्जमा अडिसन हुने इभेन्ट डिरेक्टर जयस चौधरीले जानकारी दिए ।

यस्तै दोस्रो अडिसन साउन २४ गते मोरङको विराटनगर, सिरहाको लहान, कैलालीको टिकापुरमा एकैसाथ हुनेछ । तेस्रो तथा अन्तिम अडिसन साउन २८ गते काठमाडौं, दाङ र बुटवलमा एक साथ हुने चौधरीले जानकारी दिए ।
अडिसनबाट छनौट भएकाहरुलाई भदौंमा अभिमुखीकरणमा सहभागी गराइनेछ । त्यस लगत्तै काठमाडौँ बाहिर ग्राण्ड फिनाले गर्ने आयोजकको तयारी छ । लगातार दुई संस्करणको ग्राण्ड फिनाले काठमाडौंमा भएको थियो भने तेस्रो संस्करणको फिनाले चितवनमा भएको थियो । थारु बाहुल्यता भएका जिल्लाहरुमा ग्राण्ड फिनालेहरु गर्दै लैजाने तयारी भइरहेको जह इन्टरटेनमेन्ट प्रा.लि. निर्देशक रुपेश चौधरीले जानकारी दिए । सोही अनुरुप यसपटक पनि काठमाडौँ बाहिर नै ग्राण्ड फिनाले गर्ने तयारी भइरहेको छ ।

यस प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको थियो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी भएका थिए भने मिस थारु जेनिशा चौधरी भएकी थिइन् । त्यस्तै २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार र मिस थारु लिभा थारु भएकी थिइन् ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *