छुट्नु अघि – कविता

छुट्टिनै परेपछि तसँगै हिँडेका बाटोका
घुम्ति, मोड, प्रतीक्षालयहरू पनि
सम्झनाबाट छुट्टियोस् न ।
सँगै बसेका
कफीशप, पार्क, चौतारीहरू पनि
स्मृतिबाट छुट्टियोस् न ।

टाढिनै परेपछि त
दुश्मनै बनेर टाढिए हुने हो
भुगोलै छोडेर टाढिए हुने हो
तर पनि तिमीले ‘हाँसी हाँसी’ छुट्टिने भन्यौ
साथी भएरै छुट्टिने भन्यौ ।
छातीको ठिक्क मास्तिर
घाँटिको ठिक्क मुन्तिर
तिमीले दाँत र ओठ सराबरी पारेर रगडेर
खोपिदिएको ‘लभ बाइट’ आलै छ,
यस्तोमा एक्कासी भन्यौ- हामी छुट्टिऔँ ।
हुन्छ, छुट्टिऔँला
तर
छुट्टिएपछि हामी फेरी
आजभन्दा दुई वर्ष पहिलेझैँ हुनुपर्छ
जतिबेला तिमीलाई बाटोमा भेट्दा पनि मलाई
न कोही न कोही भेटेझैँ हुने गर्थ्यो
मेरो नाम सुन्दा तिमीलाई
अर्थ न बर्थ भएझैँ हुने गर्थ्यो
जतिबेला तिमी कोही अर्कैको अनुहार कल्पेर
आफ्नो भविष्यको घर बनाउँथ्यौ
जतिबेला म अर्कैको नाम सोचेर
उसको नाममा आफ्नो थर मिसाउँथेँ
छुट्टिने नै भए समयको त्यो बिन्दुमा पुगौँ
जतिबेला यस धर्तीमा कतै तिमी छौ भनेर
मलाई थोरै पनि ज्ञान थिएन
जतिबेला यो सृष्टिमा मेरो सिर्जना भएको छ भनेरतिमीलाई कुनै खबर थिएन

तर तिमीले त
नयाँ लुगाबाट सर्लक्क स्टिकर उप्काएझैँ
मनबाट तिम्रो तस्वीर उप्काउन भन्यौ
नंगमा स्पिरिटले पुछेर नेलपोलिस मेटेझैँ
मुटुबाट तिम्रो नाउँ मेट्न भन्यौ
दुई दुई वर्षसम्म
सम्बन्धको ‘सुपर ग्लु’ टाँसेर एक अर्कामा
आज आएर भन्यौ- जस्ताको तस्तै बनौँ, छुट्टिऔँ
हुन्छ, छुट्टिऔँला
तर अब हामी छुट्टिँदा जस्ताको तस्तै हुन सक्दैनौँ
अलिकति तिमी च्यातिनु पर्छ
अलिकति म च्यातिनु पर्छ ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *